सिन्धुपाल्चोक — बाह्रबिसे नगरपालिका राम्चेमा निर्माणाधीन कालिका जलविद्युत आयोजनाले बस्ती तथा सर्वसाधारणका घरमा असर पर्ने गरी ब्लास्टिङ गरेको भन्दै स्थानीयवासीले अरनिको राजमार्ग अवरुद्ध गरेका छन् ।
ब्लास्टिङका कारण बस्ती नै जोखिममा परेको आरोप लगाउँदै स्थानीयवासी बाह्रबिसे पुल क्षेत्रमा सडकमा बसेर प्रदर्शनमा उत्रिएका हुन् । सडक अवरुद्ध भएपछि काठमाडौं र कोदारी आवतजावत गर्ने सवारीसाधन रोकिएका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।
प्रदर्शनकारीहरूले “गो ब्याक कालिका” र “हाम्रो बस्तीको जिम्मा लिउ” जस्ता नाराबाजी गर्दै तत्काल ब्लास्टिङ कार्य रोक्न माग गरेका छन्। स्थानीयका अनुसार विस्फोटका कारण घरभित्र बस्न समेत समस्या भएको छ । उचित योजना र सुरक्षाको प्रत्याभूति नभएसम्म सडक अवरोध जारी राख्ने उनीहरूको चेतावनी छ ।
प्रहरीले सोमबार प्रभावित पक्ष, सरोकारवाला र आयोजना प्रतिनिधिबीच संयुक्त बैठक राखिएको जानकारी दिँदै सडक खुलाउन आग्रह गरे पनि स्थानीयले अटेर गरेका छन् ।
काजीकुमार आचार्य का अनुसार सडक अवरोध नहटे के गर्ने भन्ने विषयमा जिल्ला सुरक्षा समितिमा छलफल भइरहेको छ ।
आयोजना पक्षले भने समस्या समाधानका लागि सर्वपक्षीय भेला बोलाइएको जनाएको छ । प्रदर्शनमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसमेत सहभागी भएकाले सडक खुलाउन चुनौती भएको बताइएको छ ।







