मेलम्ची । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसर पारेर हेलम्बु गाउँपालिका–२ किउलमा प्रतियोगितात्मक कृषि जैविक विविधता प्रदर्शनी मेला–२०८३ सम्पन्न गरिएको छ । स्थानीय रैथाने बालीको संरक्षण, कृषि जैविक विविधताको प्रवर्द्धन तथा सामुदायिक बिउ बैंक स्थापनाको उद्देश्यसहित मेला आयोजना गरिएको हो ।
हेलम्बु क्षेत्र परम्परागत खेती प्रणाली, स्थानीय बिउबिजन तथा विविध कृषि उत्पादनका हिसाबले समृद्ध मानिए पनि पछिल्ला वर्षहरूमा आधुनिक बिउको प्रयोग बढ्दै जाँदा स्थानीय जातका धान, मकै, कोदो, फापर, सिमी तथा अन्य रैथाने बाली लोप हुने जोखिम बढेको आयोजकले जनाएको छ । सोही चुनौतीलाई मध्यनजर गर्दै संरक्षणमुखी अवधारणासहित मेला आयोजना गरिएको बताइएको छ ।
मेलाको अवलोकन गर्दै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा ले स्थानीय बिउबिजन, रैथाने बाली र अर्गानिक उत्पादन हेलम्बुको पहिचान र सम्पत्ति भएको बताउनुभयो । उहाँले कृषि जैविक विविधताको संरक्षणले स्थानीय संस्कृति, ज्ञान र परम्परागत कृषि प्रणालीको जगेर्ना गर्ने धारणा राख्दै आगामी दिनमा सामुदायिक बिउ बैंक स्थापना, स्थानीय बिउको संकलन तथा अर्गानिक खेती विस्तारलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो ।
कार्यक्रममा कृषि विज्ञ दिपक रिजाल ले स्थानीय बिउ हराउँदै जाँदा त्यससँग जोडिएको कृषि ज्ञान र पुस्तान्तरणको अभ्याससमेत हराउने जोखिम रहेको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनका असर न्यूनीकरण, खाद्य सुरक्षा सुदृढीकरण तथा किसानको आत्मनिर्भरताका लागि कृषि जैविक विविधता संरक्षण आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै हेलम्बु गाउँपालिका–२ का वडा अध्यक्ष पेम्बा लामा ले स्थानीय तथा अर्गानिक उत्पादनलाई बजारसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय हाटबजार व्यवस्थित गरी उत्पादनको बजारीकरणमा जोड दिइने बताउनुभयो ।
कार्यक्रमअन्तर्गत आयोजित जैविक विविधतासम्बन्धी गीत तथा कृषि प्रदर्शनी प्रतियोगितामा सहभागी समूहहरूले स्थानीय बिउबिजन, अर्गानिक खेती र संरक्षणका विषय प्रस्तुत गरेका थिए । दुवै प्रतियोगिताका विजेताहरूलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रथम हुने समूहले १० हजार, द्वितीयले ८ हजार, तृतीयले ६ हजार तथा सान्त्वना हुनेले ४ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
मेलामा गाउँपालिकाभित्रका २८ वटा समूह सहभागी भएका थिए । स्थानीय तरकारी, रैथाने बिउबिजन, लोपोन्मुख कृषि सामग्री तथा परम्परागत कृषि प्रणालीसँग सम्बन्धित सामग्रीहरू प्रदर्शनमा राखिएको थियो । मेलाले स्थानीय उत्पादनको संरक्षण, अभिलेखीकरण तथा बजारीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा कलाकारहरू राजेन्द्र भण्डारी, स्मृति गौतम र बिनिता भण्डारी ले सांस्कृतिक प्रस्तुति दिएका थिए ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यता तथा जष्ट नेपाल फाउन्डेसन का कार्यकारी निर्देशक गोपाल लामा को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।







