मेलम्ची : किताब–कापी र पढाइमा व्यस्त हुने विद्यार्थीहरू यसपटक विपत्तिमा परेका परिवारको पीडामा मलम लगाउन अघि सरेका छन् । रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारका लागि मेलम्चीका तीन विद्यालयले १ लाख ९१ हजार ११ रुपैयाँ राहत सहयोग जुटाएका छन् ।
विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनको संयुक्त पहलमा संकलित रकम प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष बुद्धिप्रसाद आचार्यलाई हस्तान्तरण गरिएको हो ।
मेलम्चीस्थित प्रगति अंग्रेजी माध्यमिक विद्यालयले १ लाख ५१ हजार रुपैयाँ संकलन गरेको छ । त्यस्तै मेलम्ची नगरपालिका–१२ को न्युटन बोर्डिङ स्कुल र वडा नम्बर ४ को सुनकोशी बोर्डिङ स्कुलले समान २० हजार १ रुपैयाँका दरले सहयोग गरेका छन् ।
बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा आयोजित श्रद्धाञ्जली सभा तथा राहत हस्तान्तरण कार्यक्रममा सहभागीहरूले प्राकृतिक विपत्तिबाट पीडित परिवारलाई संकटका बेला सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए ।
प्रगति अंग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक ऋषि नेपालले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै मानवीय संवेदना र सामाजिक जिम्मेवारी पनि सिकाउनुपर्ने बताउनुभयो। उहाँका अनुसार सानो सहयोगले पनि विपत्तिमा परेका परिवारलाई आशा र आत्मीयताको अनुभूति दिलाउन सक्छ ।
प्याब्सन सिन्धुपाल्चोकका अध्यक्ष बुद्धिप्रसाद आचार्यले विद्यालय र विद्यार्थीबाट जुटेको सहयोगले शैक्षिक क्षेत्रको सामाजिक उत्तरदायित्वलाई उजागर गरेको बताए ।
रकमको आकारभन्दा ठूलो देखिएको छ—विपत्तिमा परेकाप्रति विद्यार्थीले देखाएको संवेदना ।








