काठमाडौँ ।
नयाँ आर्थिक वर्ष सुरु हुनासाथ केही कार्यलयमा करार तथा ज्यालादारी सेवामा कार्यरत कर्मचारीहरूलाई हटाउन लागेपछि निजामती कर्मचारी संगठनले आपत्ति जनाएको छ ।

संगठनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले सेवामा कार्यरत कर्मचारीहरूको मनोबलमा गिरावट ल्याउने र जनसेवामा बाधा पुग्ने बताएको छ ।
लामो समयदेखि निजामती सेवाका विभिन्न तहमा सेवा पु¥याउँदै आएका कारार र ज्यालादारी कर्मचारीहरूलाई सूचना र जानकारी नदिई सेवाबाट हटाउनु अमानवीय भएको संगठनले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘कार्यालय सहयोगी, कम्प्युटर अपरेटर, ड्राइभर लगायतका कर्मचारीहरूलाई सूचना विना हटाउनुले संगठन स्तब्ध र आक्रोशित भएको छ ।’
संगठनले सेवा स्थायित्व, समर्पण र जनउत्तरदायित्वका सिद्धान्तअनुरूप सेवा दिँदै आएका कर्मचारीहरूमाथिको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । साथै, सरकारले सेवा निरन्तरताको सम्मान गर्दै सम्बन्धित कर्मचारीहरूलाई काममा लगाउनु पर्ने संगठनको धारणा छ ।
संगठनका महासचिव रामचन्द्र अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा स्थानीय तहहरूलाई पनि यस्ता निर्णय गर्दा विचारपूर्वक कार्य गर्न अनुरोध गरिएको छ । साथै संगठनले सम्बन्धित प्रदेश र स्थानीय तहका निकायहरूलाई ध्यानाकर्षण गराएको जनाएको छ ।






