पिस्कर एउटा भूगोलको नाम मात्र होइन, यो नेपाली राजनीतिक इतिहासमा एक विशिष्ट प्रतिरोधको प्रतीक बनेको स्थल हो । निरंकुश राज्यसत्तालाई चुनौती दिने राजनीतिक साहस, सामन्ती संरचनाविरुद्धको विद्रोही चेतना, र सर्वसाधारणमा राष्ट्रिय–राजनीतिक बुझाइ निर्माण गर्ने युगीन अभियानको केन्द्र विन्दुका रूपमा यो क्षेत्र इतिहासमा स्थापित छ । तत्कालीन नेकपा (माले) द्वारा गाउँगाउँमा संगठन विस्तार, वर्ग चेतनाको प्रसार र सामन्ती सम्बन्धको विघटनका लागि सञ्चालित अभियानले पिस्करलाई राजनीतिक गतिविधिको उँचो धरातलमा उभ्याएको थियो । त्यही अभियानले अशिक्षित, गरिब र राज्यसत्ताबाट विमुख ठानिएका जनसमुदायलाई विचारधारात्मक रूपमा सचेत र राजनीतिक रूपमा सक्रिय बनाएको इतिहास हामीले बिर्सन मिल्दैन । परम्परागत दमन र विभेदक संरचनाले थिचिएको क्षेत्रले क्रमशः अग्रगामी शक्ति उत्पादन गर्ने भूमि बन्नु यसैको परिणाम हो ।

पिस्करलाई वाम आन्दोलनको ‘उर्वर भूमि’ भनिन्छ । यो ऐतिहासिक तथ्यसँग जोडिएको यथार्थ हो । यो त्यही धरती हो जहाँ सामूहिक क्रान्तिकारी चेतनाको बीउ उम्रियो, बढ्यो र कठोर प्रतिरोधको कर्तव्यमा प्रस्फुटित भयो । वाम नेतृत्व, वाम योद्धा र संगठनात्मक अनुशासनको सुदृढीकरणमा पिस्करको योगदान अद्वितीय मानिन्छ । यिनै कारण पिस्करको राजनीतिक महत्व स्थानीय भूगोलको सीमा पार गर्दै राष्ट्रिय राजनीतिक इतिहासमा स्थायी रूपमा अंकित भएको छ । साथै पिस्कर महान वाम नेता तथा अग्रज कमरेड अमृतकुमार बोहोराको जन्मस्थल पनि हो । जसले यसको ऐतिहासिक महत्वलाई अर्कै उचाइ दिएको छ । सामान्य जात्रा हेर्दै गरेको निरीह थामीहरुको बलिदानले पनि पिस्करलाई रक्तरञ्जित झण्डा फहराउने थलोको रुपमा परिभाषित गरिएको छ ।
यही सम्मान र अनुकरणको भावनाबाट प्रेरित भएर नेकपा एमाले त्रिपुरासुन्दरी गाउँ कमिटीले पिस्कर आन्दोलनसँग सम्बन्धित अनुभूतिहरूलाई दस्तावेजीकरण गर्ने कार्य अघि बढाएको हो । अग्रजहरूको राजनीतिक योगदानलाई सम्मान गर्ने, र अनुज पुस्तालाई इतिहास पढाउने यसको मुख्य लक्ष्य हो । पिस्करको राजनीतिक यात्रामा संलग्न विविध व्यक्तिहरूको स्मरण, अनुभव र दृष्यलाई संकलन गरी पुस्तकका रूपमा प्रस्तुत गर्ने दृढउद्देश्य राखिएको हो । विशेषगरी २०४० सालको माघे संक्रान्तिमा घटेको ऐतिहासिक नरसंहारका प्रत्यक्षदर्शी तथा त्यसका पृष्ठभूमि निर्माणमा भूमिका निर्वाह गर्ने व्यक्तिहरूका अनुभवलाई पुस्तकले सामग्रीका रूपमा समेट्ने प्रयास गरिएको छ । नयाँ पुस्तलाई पुरानो इतिहास पढाउने योजना पनि यो पुस्तक प्रकाशनको अर्को उदेश्य हो । नयाँहरुले पुरानो इतिहास बिर्सने खतरालाई यो पुस्तकले टार्न सक्छ भन्ने चाहना पनि छ ।
यो अभियान सुरु गर्न मार्गदर्शक शक्ति बनेका आदरणीय कमरेड अमृतकुमार बोहोराप्रति हाम्रो सधैंको सम्मान रहन्छ । उहाँको नेतृत्व, सल्लाह, मार्गनिर्देशन र निरन्तर प्रोत्साहनले नै यो कामको थालनी सम्भव भएको हो । साथै आदरणीय नेतागण अरुण नेपाल, सरेश नेपाल, बालकृष्ण देउजा र कमल नेपालले प्रदान गरेको मार्गदर्शन पनि उल्लेखनीय छ । नेतागणले दिएको ‘हुटहुटी’ र प्रेरणाले लेखन र दस्तावेजीकरणको कामलाई गति प्रदान गरि दियो ।
योजना बनाउनु एउटा पक्ष मात्र रहेछ, तर त्यो योजनालाई सफल पार्न विभिन्न तह र तप्काबाट प्राप्त सहयोग र श्रम उत्तिकै महत्वपूर्ण रहेछ । यस क्रममा पुस्तकका लागि महत्वपूर्ण सुझाव र सहयोग उपलब्ध गराउने वरिष्ठ पत्रकार माधव नेपालप्रति पनि हामी ऋणी छौँ । साथै सिन्धुपाल्चोकका पत्रकार नेत्र पौडेल र दिनेश थापा, विमल नेपाल लगायत व्यक्तिहरूको साथ र योगदान उल्लेख गर्नैपर्छ । गाउँ कमिटीका कमरेडहरूको श्रम, लगन र सहयोग अभावमा यो काम पूरा हुने थिएन ।
भाषागत शुद्धता र अभिव्यक्तिको परिष्कारका लागि साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई विशेष धन्यवाद छ । पिस्कारको संघर्ष, इतिहास र अनुभूतिलाई समेटेर एक साझा किताब बनाउन साथ, सामग्री, लेख र स्मृति उपलब्ध गराएर योगदान दिने सबै आदरणीय व्यक्तिहरूप्रति हार्दिक सम्मान प्रकट गर्दछौँ ।
अध्यक्ष, नेकपा (एमाले ) त्रिपुरासुन्दरी गाउँ कमिटी






