बेइजिङ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तिञ्जिनमा द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटमा दुवै नेताले नेपाल–चीन सम्बन्धका विभिन्न आयामबारे छलफल गर्दै आपसी लाभदायक सहयोगलाई आगामी दिनमा अझै अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री ओलीले चीनले नेपालको विकास प्रयासमा गर्दै आएको निरन्तर सहयोगप्रति धन्यवाद दिंदै नेपाल–चीन सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित भएकाले सहज ढंगले अघि बढिरहेको बताए। उनले नेपाललाई शाङ्घाई सहयोग संगठनको सदस्य बनाउन चिनियाँ समर्थन मागे।
प्रधानमन्त्री ओलीले पहिले नै सहमति भएका परियोजना छिटो कार्यान्वयन गर्न आग्रह गर्दै मल, पेट्रोलियम, मानव संसाधन विकास, जलवायु सहनशीलता तथा जनस्तरको सम्बन्धमा चीनको सहयोग आवश्यक रहेको बताए। साथै, भारतसँग हालै भएको लिपुलेक सम्बन्धी समझदारीप्रति नेपालले प्रष्ट आपत्ति जनाइसकेको जानकारी राष्ट्रपति सीलाई गराए।
राष्ट्रपति सी चिनफिङले नेपाललाई समृद्ध नेपाल, सुखी नेपाली अभियानमा समर्थन गर्ने प्रतिवद्धता जनाउँदै नेपालले लिएको एक चीन नीतिको प्रशंसा गरे। उनले बेल्ट एण्ड रोड इनिसियटिभअन्तर्गत सहमति भएका परियोजना छिटो कार्यान्वयन गर्ने आश्वासन पनि दिए।
तिञ्जिन पुगेका प्रधानमन्त्री ओलीलाई चिनियाँ उच्च अधिकारीहरूले स्वागत गरेका थिए। उनी भोलि एससीओ शिखर सम्मेलनका क्रममा विभिन्न विश्व नेताहरूसँग भेटघाट गर्ने र राष्ट्रपति सी तथा उनकी पत्नी पेङ लियुआनद्वारा आयोजना हुने भोज र सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।






