काठमाडौ : पुर्व प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा सफल शल्यक्रियामार्फत निकालिएको छ। डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा चिकित्सक टोलीले उक्त शल्यक्रिया सम्पन्न गरेको हो।
चिकित्सकहरूका अनुसार करिब २२ एमएमको ढुंगा निकालिएपछि ओलीलाई आईसीयूमा सारिएको छ र उनको स्वास्थ्य अवस्था निगरानीमा राखिएको छ।
यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली पक्राउ परेका थिए। पक्राउ परेकै दिनदेखि उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।
ओलीको गिरफ्तारीपछि उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतको आरोप लगाउँदै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। त्यसपछि सर्वोच्चले ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान निश्चित समयभित्र टुंग्याउन आदेश दिएको थियो।
सर्वोच्च अदालतको आदेशअनुसार अनुसन्धान समयमै नसकिएपछि प्रहरीले ओलीलाई राधिका शाक्यको जिम्मा लगाएको थियो। थुनामुक्त भए पनि स्वास्थ्य समस्याका कारण उनी अस्पतालमै रही उपचार गराइरहेका थिए।







