हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने क्रममा उपस्थित सबै सांसदको मत पाएका छन् । मंगलबार प्रदेशसभामा भएको मतदानमा उपस्थित ५७ जना सांसदले नै मुख्यमन्त्रीको पक्षमा मतदान गरे ।
प्रदेशसभामा सरकार टिकाउन ५३ मत आवश्यक पर्ने भए पनि विपक्षी दलहरूको बहिष्कारका कारण मुख्यमन्त्री थापाले सहजै विश्वासको मत पाएका हुन् ।
विश्वासको मतसम्बन्धी बैठकमा नेपाली कांग्रेसका ३६, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद सहभागी भएनन् । सरकारमा सहभागी राप्रपाका ५ सांसदसमेत बैठकमा अनुपस्थित रहे ।
सत्तारुढ दलतर्फ नेकपाका २६, एमालेका २६ र राप्रपाका ७ सांसद रहेकामा एमालेबाट उपसभामुखसहित २५ सांसद मतदान प्रक्रियामा सहभागी भए । उपसभामुखले भने मत विभाजनमा भाग लिइनन्।
यसरी मुख्यमन्त्री थापाको पक्षमा ५७ मत खस्यो। विपक्षमा वा तटस्थमा भने एक मत पनि परेन ।
विपक्षीको अनुपस्थितिले विश्वासको मतको परिणामलाई एकतर्फी बनाइदिएको छ । प्रदेशसभाको कुल १०४ सदस्यीय संरचनामध्ये आधाभन्दा बढी सांसद मतदान प्रक्रियामै सहभागी नभएपछि मुख्यमन्त्रीले उपस्थित सबैको समर्थनमा सरकार जोगाएका हुन् ।






