काठमाडौं : पोखरामा शुक्रबार साँझ परेको वर्षा एक परिवारका लागि कहिल्यै नबिर्सिने पीडा बन्यो । सडकको नालीमा एक्कासि उर्लिएको भेलले २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीको ज्यान लिएको छ ।
पोखरा महानगरपालिका–३० ढुंगेपाटनकी सुष्मा ग १३ प २८५९ नम्बरको स्कुटरमा छोरीसँगै बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै थिइन् । सडकको छेउमा स्कुटर रोकेर झर्नेबित्तिकै सानी रानीलाई भेलले नालीतर्फ तानेको थियो ।
छोरीलाई जोगाउन आमा पनि नालीमा हाम फालिन् । तर उर्लिएको भेलले दुवैलाई करिब दुई किलोमिटर तल पोखरा–१७ बिरौटासम्म बगायो ।
स्थानीय र सुरक्षाकर्मीले अचेत अवस्थामा उद्धार गरी गण्डकी मेडिकल कलेज पुर्याए पनि सुष्माको शुक्रबार राति र रानीको शनिबार बिहान उपचारकै क्रममा मृत्यु भएको कास्की प्रशासनले जनाएको छ ।






