काठमाडौं : बाढीका कारण क्षतिग्रस्त सडक तथा पुलमा यातायात सञ्चालन सहज बनाउन चीनले नेपाललाई दुईवटा बेलीब्रिज हस्तान्तरण गरेको छ ।
चीनको सिजाङ स्वायत्त क्षेत्रको सरकारले १००–१०० मिटर लम्बाइका दुई बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री नेपाललाई उपलब्ध गराएको हो । बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपालले चीनसँग ३० वटा बेलीब्रिज उपलब्ध गराउन आग्रह गरेको थियो ।
शुक्रबार ४ सेप्टेम्बर २०२६ मा चीनको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित हस्तान्तरण तथा बुझिलिने कार्यक्रममा नेपालका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका उपमहानिर्देशक ओयाङ झिबिङले हस्तान्तरण प्रमाणपत्रमा हस्ताक्षर गर्दै सामग्री आदानप्रदान गरे ।
कार्यक्रममा नेपाली महावाणिज्य दूतावास तथा सिजाङ स्वायत्त क्षेत्रको विदेश मामिला कार्यालयका अधिकारीहरूको समेत सहभागिता थियो।
चीनबाट उपलब्ध गराइएका बेलीब्रिजका सामग्रीहरू कोरला (लिजी) नाका, माथिल्लो मुस्ताङमा शुक्रबार नै आइपुगेका छन् । नेपाली पक्षले ती सामग्री शुक्रबारै बुझ्ने व्यवस्था गरिएको छ ।
ब्रिज जडानलाई प्रभावकारी र सहज बनाउन चीनले आवश्यक प्राविधिक जनशक्ति समेत उपलब्ध गराएको छ। चिनियाँ प्राविधिकहरू छिट्टै नेपाल आउने जनाइएको छ ।
बेलीब्रिजका लागि चीनले बेली प्यानल, स्टिफेनिङ कर्ड, स्वे ब्रेस, ब्रेस बोल्ट, बेली पिन, डेकिङ प्यानल, स्टिल प्लेट, बीम, च्यानल स्टिल तथा पाइप वेल्डिङ लगायतका सामग्री उपलब्ध गराएको छ ।
हालै आएको बाढीका कारण विभिन्न स्थानमा सडक तथा पुलमा क्षति पुगेपछि यातायात सम्पर्क प्रभावित बनेको अवस्थामा चीनबाट प्राप्त बेलीब्रिजले प्रभावित क्षेत्रमा आवागमन पुनः सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।







