काठमाडौं : रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार जारी छ। माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार ६ जनाको शव फेला परेको छ ।
तालिमप्राप्त कुकुर, ड्रोन, विशेष क्यामेरा तथा कोरियाली र शेर्पा उद्धार टोली परिचालन गरेर खोजी भइरहेको छ । आयोजनामा कार्यरत १ हजार ४३३ जनामध्ये ८७६ जनाको उद्धार भइसकेको छ भने ५५१ जना अझै सम्पर्कविहीन छन् ।
त्यस्तै, रसुवागढी आयोजनाका ९३ जना र माथिल्लो त्रिशूली–३ ‘बी’का १९१ जना अझै सम्पर्कविहीन छन्। खराब मौसम र नदीको उच्च बहावका कारण उद्धार उपकरण आयोजनास्थलसम्म पुर्याउन समस्या भइरहेको छ ।


यसैबीच, माथिल्लो त्रिशूली–३ ‘ए’बाट २ जनाको २१६ घण्टापछि सकुशल उद्धार गरिएको छ । अन्य आयोजनामा पनि खोजी तथा उद्धार कार्य जारी रहेको इप्पानले जनाएको छ ।







