काठमाडौं : रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले घरसहित बेपत्ता बनाएकी ६४ वर्षीया चण्डिका श्रेष्ठलाई परिवारले मृत्यु भइसकेको ठानेर काजकिरिया सुरु गरिसकेको थियो। तर, मृत्यु संस्कार चलिरहेकै बेला बाढी आएको ११औँ दिनमा उनी जीवितै फेला परेकी छन् ।
नुवाकोटको विदुर नगरपालिका–१० की श्रेष्ठलाई सशस्त्र प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट अर्धचेत अवस्थामा उद्धार गरेको हो ।
उद्धारपछि उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक पुर्याइएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई काठमाडौंको छाउनीस्थित सैनिक अस्पताल ल्याइएको छ ।
बाढी आएका दिन चण्डिका र उनका श्रीमान् घरभित्रै थिए । करिब साढे चार तले घरलाई नै बाढीले उचालेर बगाएको थियो । घर त्रिशूली किनारमा पुगेर अड्किए पनि चण्डिकाको आठ दिनसम्म कुनै खबर आएन ।
परिवारले बेत्रावतीदेखि त्रिशूली किनारसम्म खोजी गरे। तर, दलदल र दुर्गन्धका कारण खोजी कठिन भएपछि उनीहरू निराश भए । अन्ततः चण्डिकाको कुशको शव बनाएर काठमाडौंको सानो भर्याङस्थित घरमा काजकिरिया सुरु गरिएको थियो ।
तर, परिवारका सदस्य रमेशमान श्रेष्ठको मनले भने चण्डिका जीवित हुन सक्ने आशा छाडेको थिएन । ‘घरमै हो भने पानी वा चाउचाउ जे खाएर भए पनि माथिल्लो तल्लामा बसिरहेकी होली’ भन्ने उनको अनुमान थियो ।
त्यही आशाबीच ११औँ दिन चण्डिका जीवितै फेला परेको खबर परिवारमा पुग्यो। खबर पाएपछि अस्पताल पुगेका रमेशमानले चिकित्सकको आग्रहका कारण उनलाई प्रत्यक्ष भेट्न भने पाएका छैनन् ।
अस्पताल परिसरमा चण्डिकाका नातिसमेत छन् । हजुरआमालाई फोटोमा देखेपछि उनी ‘मेरी आमा चाहियो’ भन्दै रोइरहेका छन् । अघिल्लो दिन मात्रै नातिले दिनभर भगवानको भजन गाएको सम्झिँदै रमेशमानले भावुक हुँदै भने, ‘यो संसारमा भगवान साँच्चै रहेछ जस्तो लाग्यो ।’








