काठमाडौं : पौरखी नेपालको अध्यक्षमा सिन्धु अर्याल निर्विरोध निर्वाचित भएकी छन् । संस्थाको नवौं अधिवेशन तथा २४औँ वार्षिक साधारणसभाले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवक्ता कृष्ण न्यौपानेको संयोजकत्वमा गठित निर्वाचन आयोगका अनुसार सचिवमा निर्जला भट्टराई, कोषाध्यक्षमा राजु गुरुङ तथा सदस्यहरूमा शुसिला राना, सुनिता लामिछाने गुरुङ, दुर्गा पोखरेल र निर्मला गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले वैदेशिक रोजगारीबाट फर्किएका महिला श्रमिकको अधिकार, सुरक्षित तथा मर्यादित श्रम, पुनःएकीकरण र सामाजिक न्यायका सवाललाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ ।
संस्थाकी निवर्तमान अध्यक्ष सत्रकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पौरखी नेपालले वैदेशिक रोजगारीबाट फर्किएका महिला श्रमिकका क्षेत्रमा गर्दै आएको कामको सामाजिक परीक्षणसमेत गरेको थियो । सहभागीहरूले महिला श्रमिकको अधिकार संरक्षण, सुरक्षित वैदेशिक रोजगारी तथा पुनःएकीकरणका लागि राज्य र सरोकारवाला निकायबीच थप सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
यसै अवसरमा आप्रवासन, आदिवासी जनजाति तथा सीमान्तकृत समुदायका सवाललाई सञ्चारमाध्यममार्फत निरन्तर उठाउँदै आएका वरिष्ठ पत्रकार तथा अनुसन्धानकर्ता कुमार यात्रु तामाङलाई सम्मान गरिएको थियो ।


करिब तीन दशकदेखि छापा, रेडियो, अनलाइन तथा टेलिभिजन पत्रकारितामा सक्रिय तामाङलाई पत्रकारिता, अनुसन्धान र लेखनमार्फत सामाजिक मुद्दा उजागर गर्दै सामाजिक रूपान्तरणमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको पौरखी नेपालले जनाएको छ ।
सम्मान ग्रहण गर्दै तामाङले पौरखी नेपाललाई आफूले एउटा संस्थाभन्दा पनि सामाजिक आन्दोलनका रूपमा बुझेको बताए । सम्मानले सामाजिक सवालमा थप जिम्मेवारीका साथ काम गर्ने हौसला मिलेको उनको भनाइ थियो ।







