वीरगञ्ज : वीरगञ्जको एक क्यासिनोमा छापा मार्दा गाउँपालिकाको सरकारी स्कर्पियोदेखि गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसम्म भेटिएपछि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराएर जुवा खेलाएको सूचनाका आधारमा पर्सा प्रहरीले भदौ १२ गते राति वीरगञ्ज–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोनमा छापा मारेको थियो ।
छापाका क्रममा सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव र पोखरिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप पौडेलसहित ८ जना पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा जुवा खेल्ने कार्यमा संलग्न रहेको आरोप लागेका यादव, चन्दन सहनी, ओमप्रकाश बैठा र प्रहरी निरीक्षक पौडेल छन् । नेपालीलाई क्यासिनो प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा विजयकुमार पटेल, दिनेशकुमार पटेल, जयदेव साह र प्रदेशी साह पनि पक्राउ परेका छन् ।
घटनालाई थप रोचक बनाउने अर्को पक्ष गाउँपालिकाको सरकारी गाडी क्यासिनो परिसरमा भेटिनु हो । ना.१ झ १६८७ नम्बरको स्कर्पियो प्रहरीले नियन्त्रणमा लिएको छ ।
छापा मार्ने क्रममा प्रहरीले क्यासिनोको हार्डडिक्स, कागजात, कम्प्युटर र सीसीटीभीको डीभीआरसमेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
पर्साका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका प्रहरी निरीक्षक पौडेल निर्वाचनमा उत्कृष्ट काम गरेको भन्दै प्रदेश प्रहरीबाट नगदसहित पुरस्कृत भएका प्रहरी अधिकृत हुन्। उनी ड्युटी छोडेर गाउँपालिका अध्यक्षसहित क्यासिनो पुगेको प्रहरी स्रोतको दाबी छ ।
प्रहरीकै संरक्षणमा नेपालीलाई क्यासिनोमा प्रवेश गराएर जुवा खेलाउने गरिएको सूचनापछि एसपी भट्टराई स्वयंको नेतृत्वमा छापा मारिएको बताइएको छ ।
घटनामा पक्राउ परेकाहरूको भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।








