काठमाडौं : नेपालको पुँजी बजारले अपेक्षित रूपमा उत्पादन र रोजगारी सिर्जनामा योगदान गर्न नसकेको भन्दै यसलाई दीर्घकालीन लगानी जुटाउने माध्यमका रूपमा विकास गर्नुपर्ने आवाज उठेको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पुँजी बजारलाई सेयर किनबेचमा मात्रै सीमित राख्दा अर्थतन्त्रले त्यसको पूर्ण लाभ लिन नसक्ने बताएका छन् ।
राजधानीमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्स–२०२६’ मा उनले बैंकिङ प्रणालीमा मात्रै निर्भर नेपालको वित्तीय संरचनालाई विस्तारै ‘मार्केट बेस्ड फाइनान्सिङ’तर्फ लैजानुपर्ने बताए । उनका अनुसार निजी क्षेत्रले उत्पादन, पूर्वाधार र रोजगारी विस्तारका लागि आवश्यक दीर्घकालीन पुँजी पुँजी बजारबाट सहज रूपमा जुटाउन सक्ने वातावरण बनाउनुपर्छ ।
अग्रवालले विगतका नीतिगत कमजोरीका कारण सेयर बजारमा सट्टेबाजी प्रवृत्तिले प्रश्रय पाएको पनि बताए । विशेषगरी बैंक तथा वित्तीय संस्थाका सेयरमा रहेको ‘डबल आईएसआईएन’ व्यवस्थाले एउटै सेयरको मूल्यमा ठूलो अन्तर देखिनु बजारका लागि चुनौती बनेको उनको भनाइ छ ।
एउटै कम्पनीको सेयर र प्रतिफल समान हुँदाहुँदै मूल्यमा ५० प्रतिशतसम्म अन्तर देखिनुले लगानीकर्तामा अन्योल र अविश्वास बढाएको उनले बताए ।
नेपाल धितोपत्र बोर्डले एउटै आईएसआईएन लागू गर्ने तयारी गरेकोमा स्वागत गर्दै अग्रवालले यसले बजारलाई थप पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने बताए ।
अब सेयरको मूल्य कम्पनीको वास्तविक अवस्था, व्यवस्थापन क्षमता, भविष्यको योजना र प्रतिफलका आधारमा निर्धारण हुने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।







