सिन्धुपाल्चोक : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवम् पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनसँग जोडिएका घटनाको सत्यतथ्य अझै पूर्ण रूपमा बाहिर आउन नसकेको बताएका छन् ।
बाह्रबिसेमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले आन्दोलनका क्रममा भएका घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे । उनका अनुसार प्रतिवेदन लुकाएर घटनाको वास्तविकता जनतासामु आउन नदिने काम भइरहेको छ ।
प्रचण्डले जेनजी पुस्ताले उठाएका माग र उनीहरूको आन्दोलनको भावनालाई अलग रूपमा बुझ्नुपर्ने बताए । आन्दोलनमा घुसपैठ भएको दाबी गर्दै उनले भदौ २३ र २४ गते भएका घटनालाई एउटै दृष्टिकोणबाट हेर्न नहुने धारणा राखे ।
उनले भदौ २३ गतेको प्रदर्शनका क्रममा भएका घटनादेखि भदौ २४ गते भएको आगजनी, तोडफोड र अन्य विध्वंससम्मका घटनाको निष्पक्ष छानबिन आवश्यक रहेको बताए । “को–को संलग्न थिए भन्ने तथ्य बाहिर आउनुपर्छ,” उनको भनाइ थियो ।
जेनजी आन्दोलनको छानबिन प्रतिवेदन सार्वजनिक गर्न यसअघि पनि विभिन्न पक्षबाट माग हुँदै आएको थियो । आयोगको प्रतिवेदन सञ्चारमाध्यमबाट बाहिरिएपछि त्यसलाई औपचारिक रूपमा सार्वजनिक गर्न सरकारमाथि दबाबसमेत परेको थियो ।
बाढीपीडितको उद्धारमा सरकारको ध्यान जानुपर्ने
कार्यक्रममा नेकपाका सहसंयोजक माधवकुमार नेपालले भने राजनीतिक विषयसँगै प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार र राहतलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराए।
भदौ १० गते रसुवामा आएको भोटेकोशी नदीको बाढीबाट प्रभावित तथा ज्यान गुमाएका नागरिकको सम्झनामा पनि श्रद्धाञ्जली अर्पण गरिएको थियो । नेपालले बाढीबाट प्रभावितहरूको शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी बागमती प्रदेश अध्यक्ष एवं प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सरल सहयात्रीकी आमाको निधनको १३औँ दिनको पुण्यतिथिको अवसरमा आयोजना गरिएको थियो ।


श्रद्धाञ्जली सभामा नेकपाका नेता अग्निप्रसाद सापकोटा, देव गुरुङ, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख एवं केन्द्रीय नेता कृष्णप्रसाद सापकोटा, पूर्वसांसद माधव सापकोटा, सिन्धुपाल्चोक क्षेत्र नं. २ का सांसद युवराज दुलाललगायत प्रदेश, जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताको सहभागिता थियो ।







