काठमाडौं : भदौ १० गते पत्रकार निराजन पाैडेलकाे जीवनमा यो मिति अब कहिल्यै सामान्य भएर फर्किने छैन। यही दिन भोटेकोशीमा आएको उन्मत्त बाढीले उनको घर मात्रै बगाएन, जीवनका सबैभन्दा प्रिय पाँच जना सदस्यलाई पनि उनीबाट सधैँका लागि खोसेर लग्यो ।
जहाँ उनको बाल्यकाल हाँसेको थियो, जहाँ आमाको ममता थियो, बुवाको छहारी थियो, जहाँ परिवारसँग जोडिएका अनगिन्ती सम्झना थिए—आज त्यहाँ ढुंगा, बालुवा र बगर मात्रै छ ।
बाढीले उनका पूजनीय आमा–बुवा, स्नेही अंकल–अण्टी र प्यारी बहिनीलाई सधैँका लागि टाढा बनाइदियो। एकैपटक आफ्ना पाँच जना प्रियजन गुमाउँदाको पीडा कस्तो हुन्छ, त्यो उनीबाहेक सायद कसैले महसुस गर्न सक्दैन ।
बाढीपछि सात दिनसम्म उनका आँखाले एउटै आशा खोजिरहे—‘सायद फर्केर आउनुहुन्छ कि !’
हरेक दिन आशा पलाउँथ्यो। हरेक आवाजले मन झस्किन्थ्यो। तर सात दिन बित्यो, आफन्त फर्किएनन् । अन्ततः प्रियजन भेटिने आशासमेत सेलायो र रित्तो हात काजकिरिया गर्नुपर्ने कठोर नियति आइपर्यो ।
काजकिरिया सकिएको छ। तर मनभित्रको शोक सकिएको छैन।
‘बाढीले मेरो घर मात्रै लगेन्, मेरो अस्तित्व र भविष्यका सपना समेत समाप्त पार्याे,’ उनी भन्छन् ।


आँसु रोक्ने प्रयास गर्छन्। आफूलाई सम्हाल्ने प्रयास गर्छन्। तर बाढीले बगरमा परिणत गरेको गाउँको तस्बिर आँखाअघि आउँदा उनी फेरि भक्कानिन्छन् ।
अरूको सामान्य दुःखमा समेत भक्कानिने उनको मनले अहिले आफ्नै परिवारका पाँच जना प्रिय सदस्य गुमाउनुको पहाडजस्तो पीडा बोकेको छ ।
यही पीडाबीच उनले आफूलाई सम्झाउने एउटा आधार भने भेटेका छन्—दुःखमा साथ दिने मानिसहरूको माया।
फोन गरेर, सामाजिक सञ्जालमार्फत, प्रत्यक्ष भेटेर वा सान्त्वनाका केही शब्द बोलेर साथ दिने सबैप्रति उनी भावुक हुँदै कृतज्ञता व्यक्त गर्छन् ।
‘तपाईंहरूको एउटा–एउटा शब्द र ढाडस मेरो अन्धकारमा सानो दियो बनेर आएको छ । मेरो दुःखमा मल्हम लगाउने सबैको तस्बिर मैले मनको कुनामा सधैँका लागि सजाएर राखेको छु,’ उनी भन्छन् ।
तर राज्यप्रतिको उनको आशा भने लगभग समाप्त भएको छ ।
परिवार गुमाउँदा अभिभावकविहीन भएको महसुस त भएकै थियो, राज्यको उपस्थिति र साथ नदेखिँदा आफू झनै रित्तो भएको उनको गुनासो छ ।
यति ठूलो पीडापछि पनि उनी हार मान्ने पक्षमा छैनन् ।
गुमाएका पाँचै जना प्रियजनको सम्झनालाई शक्ति बनाएर फेरि उठ्ने उनको संकल्प छ । शरीर थाकेको छ, मन टुक्रिएको छ, तर जीवनलाई अघि बढाउने साहस भने जुटाउँदैछन् ।
‘मसँग अब धेरै कुरा बाँकी छैन। तर उहाँहरूको सम्झना बाँकी छ । त्यही सम्झनालाई शक्ति बनाएर फेरि उठ्नेछु,’ उनी भन्छन् ।
भदौ १० ले उनको संसार खोस्यो । घर खोस्यो । परिवार खोस्यो। तर उनको मनमा बाँकी रहेको एउटा संकल्प अझै बाँचिरहेको छ—गुमेका आफन्तको सम्झनासँगै फेरि जीवन सुरु गर्ने ।






