काठमाडौं : बाढीका कारण ढुवानी तथा आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको असहजता कम गर्न सरकारले सिलिन्डर ‘इन्टरचेञ्ज’को व्यवस्था अघि सारेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपत्यकामा उपभोक्ताले आफूले नियमित प्रयोग गर्ने कम्पनीकै सिलिन्डर खोजिरहनुपर्ने बाध्यता हटाउन निर्देशन दिएकी हुन् ।
मन्त्रीको निर्देशनअनुसार कुनै कम्पनीको सिलिन्डर तत्काल उपलब्ध नभएमा अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा साटेर ग्यास उपलब्ध गराउनुपर्नेछ । यो व्यवस्था काठमाडौं उपत्यकाभित्र मात्र लागू हुनेछ ।
यसअघि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको ब्रान्डको सिलिन्डर नै खोज्नुपर्ने अवस्था थियो । तर, बाढीका कारण आपूर्ति शृंखला प्रभावित भएपछि कुनै एक कम्पनीको ग्यास बजारमा नहुँदा अर्को कम्पनीको ग्यास उपलब्ध हुँदाहुँदै पनि उपभोक्ता समस्यामा पर्ने अवस्था देखिएको थियो ।
नयाँ व्यवस्थाले त्यस्तो समस्या तत्काल हटाउने सरकारको अपेक्षा छ । अब उपभोक्ताले आफ्नो नियमित ब्रान्डको सिलिन्डर नपाए बजारमा उपलब्ध अर्को कम्पनीको सिलिन्डरमार्फत ग्यास लिन सक्नेछन् ।
प्राकृतिक विपद्का कारण उत्पन्न आपूर्ति संकटको प्रत्यक्ष मारमा परेका उपभोक्तालाई तत्काल राहत दिन यस्तो व्यवस्था गरिएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।
सरकारले बाढीबाट प्रभावित आपूर्ति प्रणाली सामान्य अवस्थामा नफर्किएसम्म उपत्यकामा ग्यासको सहज उपलब्धतालाई प्राथमिकतामा राखेको जनाएको छ ।






