काठमाडौं : विद्यालयको कक्षाकोठाभन्दा बाहिर पनि प्रतिभाको परीक्षा हुन्छ। गोकर्णेश्वर–८ स्थित लिबर्टी एकेडेमीले विद्यार्थीभित्र लुकेको त्यही प्रतिभा खोज्दै आयोजना गरेको प्रथम ‘लिबर्टी भोकल म्यानिया’ सांगीतिक प्रतियोगितामा मिङ्मा लामा उत्कृष्ट ठहरिएका छन् ।
प्रतियोगितामा प्रारम्भिक चरणमा ८० विद्यार्थीले स्वरको परीक्षा दिएका थिए । त्यसमध्ये उत्कृष्ट १७ जना अन्तिम प्रतिस्पर्धामा पुगे। अन्तिम चरणमा कडा प्रतिस्पर्धाबीच मिङ्मा प्रथम, गौरव तामाङ द्वितीय र लक्ष्मी तामाङ तृतीय घोषित भए ।
प्रतियोगिताको विशेष पक्ष भने विजेतालाई विद्यालयको मञ्चमै सीमित नराखी राष्ट्रियस्तरको सांगीतिक यात्रातर्फ अघि बढाउने घोषणा हुनु रह्यो । कार्यक्रमका प्रमुख अतिथि जिग्मे मिडिया तथा डम्फु सेलोका निर्देशक सूर्य तामाङले प्रथम भएका मिङ्मा र द्वितीय भएका गौरवलाई राष्ट्रियस्तरको डम्फु सेलो सांगीतिक प्रस्तुतिमा सहभागी गराउने घोषणा गरे ।
तामाङले विद्यालय तहबाटै विद्यार्थीको सांगीतिक क्षमता पहिचान गरी अवसर दिनुपर्नेमा जोड दिए । उनका अनुसार प्रतियोगिता केवल जित–हारको विषय नभई विद्यार्थीको प्रतिभालाई मञ्च र अवसरसँग जोड्ने माध्यम पनि हो ।


लिबर्टी एकेडेमीका प्रिन्सिपल ओमप्रसाद ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा ‘द भ्वाइस अफ नेपाल सिजन–५’ का विजेता गायक दीपक लामा र संगीतकार जिग्ने दोङ निर्णायक थिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका–८ का वडा सदस्य सुमन लामाले विद्यालयले पढाइसँगै खेलकुद, संगीत र नृत्यजस्ता अतिरिक्त क्रियाकलापलाई समेत प्राथमिकता दिँदै आएको बताए। यस्ता गतिविधिले विद्यार्थीको आत्मविश्वास, सिर्जनशीलता र व्यक्तित्व विकासमा सहयोग पुग्ने उनको भनाइ थियो ।

प्रिन्सिपल ढकालले विद्यालयले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै उनीहरूको सिर्जनात्मक क्षमता विकासलाई पनि उत्तिकै महत्व दिएको बताए। आगामी दिनमा संगीत, नृत्य, खेलकुदलगायत गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने उनले प्रतिबद्धता व्यक्त गरे ।
८० जनाबाट सुरु भएको प्रतियोगिता १७ जनाको अन्तिम भिडन्त हुँदै तीन विजेतामा टुंगिए पनि लिबर्टी एकेडेमीको यो मञ्चले विद्यार्थीका लागि नयाँ सांगीतिक सम्भावनाको ढोका खोलेको छ।






