काठमाडौं : ग्यास उद्योगीमाथि कडा टिप्पणी गरेकै दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।
यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।
ग्यासको आपूर्ति व्यवस्थालाई लिएर उद्योगीहरूसँग विवाद चर्किरहेका बेला मन्त्री यादवले बिहीबार ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ भन्दै कडा अभिव्यक्ति दिएकी थिइन् । उद्योगीप्रति आक्रामक रूपमा प्रस्तुत भएकी यादवले सोही दिन प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएपछि उनको राजीनामालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यादवले गत चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित उनी प्रतिनिधिसभा सदस्य हुन् ।
मन्त्री पद सम्हालेको करिब पाँच महिनामै यादवले राजीनामा दिएपछि अब आपूर्ति मन्त्रालयको नेतृत्व कसलाई दिने भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ ।







